काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका नेता महेन्द्र राय यादवले पार्टी सरकारलाई समर्थन गर्न तयार रहे पनि आवश्यक वातावरण नबनेसम्म सरकारमा नजाने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै नेता यादवले आफूहरुले सत्ताका लागि नभई संविधान संशोधनका लागि सरकारलाई समर्थन गरेको बताए ।
‘सरकारलाई अप्ठेरोमा सहयोग गर्न राजपा तयार छ। एक वर्षसम्म हामी संविधान संशोधन कुरेर बस्यौ,तर अहिलेसम्म भएको छैन। हामीले सत्ताका लागि होइन संविधान संशोधनका लागि सर्मथन गरेका हौं,’ उनले भने, ‘हाम्रा मान्छेहरु जेलबाट छुट्नु पर्यो। सरकारले माग सम्वोधन गरोस् र वातावरण बनायोस् हामी सरकारलाई समर्थन गर्न कति समय चाहिन्छ तयार छौ।’ उनले सरकारले आफ्नो पार्टीको समर्थन लिने तर प्रतिबद्धता पूरा नगर्ने हो भने सरकारमा जाने चाहना नभएको पनि बताए।
उनले लाखौं नागरिक गैरनागरिक हुँदा र दैनिक समस्या पर्दा पनि नागरिकता विधेयक नआएकोमा आपत्ती पनि जनाए।
‘यो सरकार स्थिर छ, तर विधेयक किन जारी भएन, यो विधेयक अधिवेशन पनि भएकाले सभामुखले यसमा काम गर्नु आवश्यक छ, यसमा राजपाको सहयोग हुन्छ,’ उनले भने।
नेता यादवले संविधान संशोधन गर्न भनेर सरकारले विगतमा सहमति गरेको र आफूहरुले निरन्तर माग राख्दै आएपनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे। ‘सरकारले द्वन्द्व र मधेशका सवालमा गरेका सम्झौता कार्यान्वयनमा संसदले भूमिका खेल्नु जरुरी छ,’ उनले भने। यादवले आफ्नो पार्टीका २५ जना अहिले पनि जेलमा रहेको र सांसद रेशम चौधरीसमेत जेलमा रहेको अवस्थामा सरकारले कुरै नसुनेको बताए । उनले उखु किसानलाई भुक्तानी दिलाउनेतर्फ पनि सरकारले पहल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।