काठमाडौं– नयाँ सभामुख चयनपछि सुरु भएको संसदको हिँउदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ सभामुख अग्नि सापकोटालाई बधाइ दिए। ‘कार्यकाल सफल रहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा सफलता मिलोस्।’
उनले सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको बताए। संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत् मर्यादित ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने पनि प्रधानमन्त्रीले विश्वास गरेका छन्।
आफ्ना सम्बोधनमा सधै राजनीतिक कुरा गर्ने प्रधानमन्त्री ओलीले यसपालिको सम्बोधनमा भने यी विषयमा खासै कुरा गर्न चाहेनन्। उनले यसपालि नयाँ सभामुखलाई बधाइ दिनमै आफ्नो सम्बोधनलाई सीमित राखे।
राजनीतिक विषयमा विस्तृतमा पछि कुरा राख्ने भन्दै उनले केही राजनीतिक विषयमा संकेतमात्रै गर्दै सम्बोधन टुंग्याए। हिँउदे अधिवेशनको केही समय खेर गएको भन्दै प्रधानमन्त्री ओलीले थुप्रै काम अघि बढाउन बाँकी रहेको र यसमा नयाँ सभामुखको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे।
‘यस अधिवेशनमा केही समय खेर गएको भए पनि अब खेर जान नदिएर थुप्रै कामहरु हामीले अघि बढाउनुपर्ने छ,’ ओलीले भने, ‘यस काममा सभामुखको सफल नेतृत्व हुने छ।’ अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अहिले निकै विवाद भइरहको छ।
यस्तो विवाद विशेष गरी उनकै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा छ। नेकपाको एउटा पक्ष एमसिसीलाई स्वीकार गर्न नसकिने बताइरहेको छ। यसबारे प्रधानमन्त्री ओलीले भने, ‘एमसिसीजस्ता विधेयक पारित गर्नुपर्ने छ। यसमा सविस्तार म पछि भन्ने छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।