तेह्रथुम- गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन्।
बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको थियो। गाउँपालिकाको निर्देशनपछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाएका छन्।
यस्तै ध्रुव खुलाल, देशबहादुर कार्की, सुमन खुलाल, उमेश पोखरेल, पञ्चबहादुर लिम्बू र बलबहादुर तामाङले पनि सडक फराकिलो बनाउन सहयोग गर्दै बार्दली, बरण्डा र निर्माण भएका अन्य टहरा भत्काएका छन्। गाउँपालिकाले बजार क्षेत्रका मुख्य सडकलाई १० मिटर र अन्य शाखा सडक ७ मिटरका बनाउने भन्दै त्यसका लागि सहयोग गर्न सूचित गरेको थियो।
सडक फराकिलो बनाउन बजारवासीले गाउँपालिकाको निर्णयको समर्थन गर्दै आफैँ आफूले बनाएका घरटहरा भत्काएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।