काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसिसी यसै सदनबाट पारित गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै देउवाले यति धेरै अमेरिकी सहयोग नेपाललाई कहिल्यै नभएको भन्दै एमसिसी पारित गर्नुपर्ने बताएका हुन्।
‘यो धेरैअघि देखि सुरु भएको, नेपालका लागि यो ठूलो सहयोग हो, यसमा अनेक शंका गर्नु जरुरी छैन, अमेरिकाले सैन्य रणनीतिअन्तर्गत हैन भनेको छ, चीनले आपत्ति जनाएको छैन,फेरि कसको आपत्ति हो?’ उनले भने, ‘त्यसैले यो कुनै हालतमा रोकिनुहुँदैन।’
देउवाले एमसिसी आफू प्रधानमन्त्री भएको बेला पास भएको र धेरै अघि नै सुरु भएको पनि बताए।
उनले नेपालको बिजुली भारतले किन्ने सम्भावना बढिरहेका बेला रोक्ने कुरा आइरहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउनुपर्ने र यसै सदनबाट पारित गर्नुपर्ने पनि बताए।
देउवाले सभामुख पद निष्पक्ष र तटस्थ पद भएकाले यसमा ध्यान दिन पनि सभामुख सापकोटालाई आग्रह गरे। ‘संसद विपक्षीको हो। संसारभर यही नियम छ, दमननाथ ढुङ्गानाले पनि संसदमा यही कुरा भन्नु भएको थियो। बेलायत र भारतमा पनि यही अभ्यास हो। तपाईले यही कुरालाई ध्यान दिनु होला। सत्तापक्ष काम गर्छ त्यसको आलोचना गर्ने काम प्रतिपक्षको हो,’ उनले भने।
उनले विधेयकहरु प्रतिकूल रहेको उल्लेख गर्दै त्यसको पनि आफूहरुले विरोध गरेको बताए। ‘विना प्रेस स्वतन्त्रता मानवअधिकार तथा लोकतन्त्र सफल हुन सक्दैन, त्यसैले प्रेस स्वतन्त्र हुनुपर्छ,, यसको प्रतिकूल विधेयक आएका छन्,’ देउवाले भने। उनले यस्ता विधेयक संसदबाट पारित हुन नहुने पनि बताए। उनले प्रतिपक्षलाई विश्वासमा लिन र संसदमा उठेका विषयलाई गम्भीरतापूर्वक लिन पनि प्रधानमन्त्रीलाई आग्रह गरे।
उनले चीनमा फैलिएको कोरोना भाइरस नेपाल छिरेको भन्दै यसको जोखिम न्यूनीकरण गर्न पनि २४ सै घन्टा हेल्थ डेस्क स्थापना र चीनमा रहेका नेपालीलाई उद्दार गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।