काठमाडौं- लोकतान्त्रिक प्रणालीमा आफ्ना माग पूरा गराउन दबाबका लागि शान्तिपूर्ण आन्दोलन गर्नु सामान्य प्रक्रिया हो। आमरण अनशनलाई शान्तिपूर्ण आन्दोलनको उच्चतम दबाबको रुपमा हेरिन्छ।
तर ‘लोकतान्त्रिक पार्टी’दाबी गर्ने नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठनका सदस्यलाई लोकतान्त्रिक प्रक्रियाअनुसार शुरु हुन लागेको आमरण अनशन स्वीकार्य भएन।
अनशन बस्ने र बस्न नदिने पक्षमा रहेका एकै पार्टीमा गोलबद्ध २ समूहबीच कांग्रेस केन्द्रीय कार्यालय परिसरमा घम्साघम्सी शुरु भयो। घम्साघम्सी बढ्दै जाँदा दुवै समूह एक अर्काविरुद्ध भौतिक आक्रमणमै उत्रिए।
दुई पार्टीका विद्यार्थी नेताहरू आपसमा भिड्दा छुट्ट्याउने प्रहरी एकै पार्टीका विद्यार्थी नेताहरूबीच शुरु भएको ‘ग्याङ फाइट’ छुट्याउन पनि खटियो। १० मिनेटको घम्साघम्सी प्रहरी हस्तक्षेपपछि साम्य भयो।
किन उत्रिए कुटाकुटमै?
नेविसंघमा ३२ वर्षको उमेर हद लागू गर्नुपर्ने माग गर्दै कांग्रेसभित्रका कृष्णप्रसाद सिटौला समर्थक देखिएका विद्यार्थी नेता कुन्दनराज काफ्ले समूह ४० दिनदेखि केन्द्रीय कार्यालयमा रिले अनशनमा बसेको थियो।
आफ्नो मागको सुनुवाइको साटो शीर्ष नेताहरूले आपसमा भागबन्डा गरेर विवाद थाती राख्न खोजेपछि काफ्ले समूहले सोमबार त्यहीँ आमरण अनशन शुरु गर्ने तयारी गरेको थियो।
उमेर हदबन्दीका विषयमा प्रवेश नै नगरी कांग्रेस शीर्ष नेताहरू नेविसंघको कार्य समिति १ सय २७ सदस्यीय बनाउन सहमत भए। अनि संघको सभापतिको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा निकटकाले पाउने सहमति भएपछि काफ्ले समूह आफ्नो मागमा अडिग रहे। पूर्व घोषित कार्यक्रमअनुसार सोमबार बिहान साढे १ बजे अनशन बस्ने तयारीमा जुट्यो।
आमरण अनशनका लागि नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी तयारी अवस्थामा थिए। अनशन शुरु गर्नुअघि उनले आफू समर्थित विद्यार्थीलाई करिब १५ मिनेट पार्टी, संगठन, विधान र आमरण अनशनमा बस्नु पर्नाको कारण बताए।
‘विधिबाट पार्टी सञ्चालन गर्न आमरण अनशन सुरु गरिएको हो,’ उनले भने,‘यो आन्दोलन कांग्रेस सुधार्नका लागि हो।’

त्रिपाठीले बोलिसकेपछि पूर्व मुख्य सचिव शोभाखर पराजुली र संघका पूर्व महासचिव कुन्दनराज काफ्लेले उनलाई माला लगाइदिएर आमरण अनशनमा बसाए।
सोमबारै १ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक डाँकिएको थियो। पार्टी सभापति देउवा कार्यालय आइसकेका थिएनन्।
करिब २ बजेतिर देउवा पार्टी कार्यालयमा आए। देउवा प्रवेश गर्ने बेलासम्म कार्यालय परिसरमा देउवा पक्षधर विद्यार्थीहरूको संख्या बाक्लिसकेको थियो। देउवा आउँदा काफ्ले बोलिरहेका थिए। अनशन स्थल मूल गेटसँगै थियो।
मूल गेटबाट सभापति देउवा कार्यकक्ष प्रवेश गर्न लाग्दा दुवै समूह एकाएक उत्तेजित भए। पक्ष–विपक्षमा नारा लाग्न शुरु भयो। सुरक्षाकर्मी र देउवा समर्थक विद्यार्थीले देउवालाई स्कर्टिङ गरी कार्यालयभित्र प्रवेश गराएसँगै मूल गेटमा ठेलमठेल शुरु भयो। यत्तिकै केही विद्यार्थीहरू आपसमै हानाहानमा उत्रिए।
एक अर्कातिर गमला र इट्टा प्रहार शुरु भयो। दुवै पक्षका केही नेता झगडा मिलाउन प्रयासमा लागे पनि सकेनन्। झडपमा घाइते भएका कमल पन्त र लक्ष्मी बोगटीलाई उपचारका लागि स्टार अस्पतालमा पुर्याइयो।
कसले हान्यो, पत्तै छैन
भिडामभिडका बीच एकाएक हानाहान भए पनि कसले हिर्काएको हो सो भने खुलेन। काफ्ले पक्ष सभापति देउवा निकट विद्यार्थीहरूले हिर्काएको दाबी गर्छन्।
देउवा पक्षका विद्यार्थी नेताहरू पार्टी सभापतिलाई बेकारमा बदनाम गर्ने प्रयास भएको दाबी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।