काठमाडौं– यसअघि ‘घामपानी’ र ‘छ माया छपक्कै’ निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र लामाले अब नयाँ फिल्म ‘२ नम्बरी’ बनाउने भएका छन्। काठमाडौंस्थित पुरानो बानेश्वरमा सोमबार औपचारिक कार्यक्रमकाबीच दीपेन्द्रले फिल्मको घोषणा गरे।
फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङ प्रमुख भूमिकामा रहने जानकारी दिइयो। फिल्मको घोषणा कार्यक्रममा भने बुद्धि सहभागी थिएनन्, अन्य तीन भने सहभागी थिए।
फिल्मको कथा र पात्रबारे कार्यक्रममा केही जानकारी दिइएन। ‘सामाजिक कथाबस्तुमा आधारित फिल्म हो, बाँकी कुरा पछि भनौँला,’ निर्देशक लामाले भने।
यो फिल्ममा दीपेन्द्रसँग दयाहाङको दोस्रो सहकार्य हो। यसअघि ‘घामपानी’मा पनि दयाहाङ प्रमुख भूमिकामा थिए। पलसँग भने दीपेन्द्रको यो पहिलो सहकार्य हो।
त्यस्तै लामो समयको अन्तरालपछि वर्षासँग स्क्रिन सेयर गर्न पाउँदा पल दंग सुनिए। ‘‘नाइ नभन्नु ल ४’ पछि हामीले सँगै फिल्म खेल्ने अवसर जुरेको थिएन, अहिले जु¥यो त्यसैले खुशी छु,’ पलले भने, ‘त्यस्तै दया र दीपेन्द्र दाइहरुसँग पनि धेरैकुरा सिक्न पाइन्छ भन्ने अपेक्षा छ।’ दयाहाङसँग पलको यो पहिलो फिल्म हो।
किरण नेपालीको प्रस्तुति रहने यो फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन्। सिनेमाका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन्।
माघ २५ गतेदेखि फ्लोरमा जाने बताइएको यो फिल्मलाई आगामी वर्षको जनै पुर्णिमामा रिलिज गर्ने निर्माण पक्षको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।