काठमाडौं- लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ।
गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडौं जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएका हुन्।
उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङफेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई सोमबार मृत अवस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिंह तामाङले जानकारी दिए।
उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा ४० मिटरको फरकमा ती दुई व्यक्तिको शव फेला पारेको थियो।
मृतक दुवै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईंकुण्ड घुमेर हेलम्बु फर्कँदै गर्दा बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजीकार्य तीब्र पारिएको थियो।
हराएका युवकको खोजीको लागि माघ ६ गते सोमबार नुवाकोट जिल्लाको घोप्टेफेदीमा हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्यालजेन शेर्पासहितको उद्धार टोली सो क्षेत्रमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।