जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको म्यान्डेटअनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दाबी गरेका छन्।
नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने- ‘हल्लाको पछाडि नलाग्नुस्, यो सरकार मधेस जनताको म्यान्डेटले बनेको हो, पाँच वर्षसम्म चल्छ, न सरकार फेरिन्छ, न मन्त्री।’
संघीयता नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपालाई फुटाएर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै राउतले दुवै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे।
उनले सरकार सिक्ने क्रममै रहेको र कर्मचारीतन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गरे। मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश २ माथि नै रहेकाले आफूहरु झिनामसिना कुरामा नअल्झिने राउतले स्पष्ट पारे।
एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानुनी समस्याहरु आएकाले ढिलो हुन गए पनि अबको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने तयारी सुरु भइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।