जनकपुर- प्रदेश सरकारद्वारा संचालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गतको छोरी शिक्षा बिमा शिविरमार्फत हालसम्म ५ हजारभन्दा बढी छोरी विमित भइसकेका छन्।
२०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेअनुरुप मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै अभियान संचालन गरिएपनि प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यका साथ संचालित शिविरमार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले बिमा गराएका हुन्।
शिविरमार्फत सप्तरीमा ८ सय ८८, सिरहामा ६ सय ६३, धनुषामा ३ सय ४६, महोत्तरीमा ६ सय ४५, सर्लाहीमा ७ सय ६८, रौतहटमा ४ सय ६२, बारामा ८ सय ५ र पर्सामा ४ सय ६३ छोरीले बिमा गराएका छन्।
माघ २ गते मुख्यमन्त्री लालबाबु राउतद्वारा पर्साको विरगंजका साथै आठवटै जिल्लामा एक साथ सुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा संचालन हुनेछ।
शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने व्यवस्था रहेको छ।
यसका साथै शिविरमा बिमा गराउने बालिकाका परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवासमेत पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।