काठमाडौं- साझा पार्टीले एमसिसी कम्प्याक्टका विषयमा संशोधन आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गरेको हो।
तीन हप्ताअघि सार्वजनिक गरिएको विज्ञप्तीमा साझा पार्टीले नेपालको 'परराष्ट्र नीति र राष्ट्रिय स्वार्थमा कुनै प्रकारको आँच नआउने सुनिश्चितता गर्दै एमसीसी परियोजनालाई स्वीकृत गरिनु पर्ने' उल्लेख गरेको थियो।
'वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान हो,'विज्ञप्तिमा भनिएको छ, 'नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छन्। यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त देखिँदैन।'
यो विषयमा कुटनीतिक संवाद अगाडि बढाउन समेत साझा पार्टीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।