काठमाडाैं- नवनिर्वाचित सभामुख अग्नि सापकोटाले एमसिसीबारे बहस छेडिएकाले अध्ययन गर्दै जान सुझाएका छन्।
'एमसिसीको बारेमा बहस छेडिएको छ। बहस छेडिएपछि निचोडतिर पुग्छ। सबैले अध्ययन गर्दौ जाँऔं न। अहिले किन हतार गर्नु र?', सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग उनले भने।
उनले भर्खर सभामुख भएकाले एमसिसीको विषयमा पहिले अध्ययन गर्ने बताए। 'अहिले बाहिर बहस भइरहेको छ, ठिकै छ। मैले सुनिरहेको छु’, आफ्नो कार्यकक्षमा उनले भने, ‘भित्र पसेपछि मेले के देख्छु। यसमा पनि प्रतिनिधिसभाका सांसदको भावना समेट्न अधिकतम कोशिस गर्छु।’
उनले अदालतमा रहेको मुद्दा प्रक्रियामा रहेकाले त्यसबारे बोल्नु मनासिब नहुने बताए। आफूविरुद्ध उठेका प्रश्नहरुको निरुपण हुँदै जाने उनले बताए। 'अहिले किन हतार गर्नु?', उनले भने, 'के सही हो र के गलत हो भन्ने कुरा करोडौं जनतामा गएको छ।'
आफ्नो विरुद्ध सडकमा भएको विरोधलाई लोकतन्त्रमा सामान्य भएको प्रतिक्रिया उनले दिए। 'यो लोकतन्त्र हो', उनले भने, 'लोकतन्त्रमा चलिरहने प्रक्रिया भनेर बुझ्छु।'
सभामुख सापकोटाले अहिले बाहिर बहस भइरहेकोबारे आाफू जानकार भएको बताए।
प्राथमिकताका आधारमा संसदका कामलाई अगाडि बढाउने पनि उनले बताए। सभामुख सापकोटाले जननिर्वाचित संसदको प्रतिष्ठालाई माथि उठाउने गरी अगाडि बढ्ने पनि बताए। उनले प्रतिपक्षलाई समेट्न निकै राम्रो आधार तयार भएको बताए।
‘प्रतिपक्ष समेट्न निकै राम्रो आधार तयार भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उम्मेद्वारी नदिएर सद्भावको हात अगाडि बढाएको छ’, उनले भने, ‘०६४ सालदेखि निरन्तर संसदमा छु। पार्टीका रुपमा पनि विभिन्न वार्ता र छलफलमा बसेको छु। त्यसकारण के लाग्छ भने देश र जनताप्रति इमान्दार भएर काम गर्दा कुनै पनि समस्या जटिल होला भन्ने लाग्दैन। किनभने जति ठूलो समस्या त्यति धेरै छलफल हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।