काठमाडाैं- गायिका आस्था राउत साेमबार महानगरीय प्रहरी परिसर टेकु जाँदै छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएकाे विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय जान लागेकी हुन्।
प्रहरीले नेपाल आए लगत्तै पक्राउ गर्ने तयारी गरेपछि आस्थाकाे परिवार उनलाई नेपाल फर्किए लगत्तै प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएकाे थियाे। साेहि सहमतिअनुसार आस्थाका परिवारका सदस्यले उनलाई प्रहरी कार्यलय लैजान लागेका हुन्।
आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्।
यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएकाे थियाे। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियाे।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भएको हाे। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि आस्थाले दुर्व्यवहार गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको हो।
विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो। श्रेष्ठले विमानस्थलस्थित प्रहरी कार्यालयमा उनीविरुद्ध माघ ३ गते उजुरी दिएकी थिइन्।
उता, आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएकाे माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन्।
विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो बाहिरिए थियाे। भिडियाे बाहिरिएपछि आस्थाले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्। पछि आस्थाले आफूले बोलेका कतिपय शब्दहरूले प्रहरी संगठनलाई चोट पुगेको भन्दै फेसबुक लाइभबाट माफ पनि मागेकी थिइन्।
सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।