जनकपुर– जनकपुर उपमहानगरपालिकामा पत्रकारमाथि कुटपिट घटनामा नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरका मेयरविरुद्ध किटानी जाहेरी दिएको छ। धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले मेयर लालकिशोर साहविरुद्ध आइतबार किटानी जाहेरी दर्ता गराएका छन्।
गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि हातपात भएपछि घटनाको विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रविरुद्ध पनि अपशब्द प्रयोग गरिएको थियो।
सोही विषयलाई लिएर अध्यक्ष मिश्रले आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन्। मेयर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरु अमरकान्त ठाकुर, सुमित मिश्र, राजा झा र सुभाष कर्णमाथि हातपात तथा दुर्व्यवहार भएको थियो। उनीहरूले समेत आआफ्नो तरिकाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने तयारीमा छन्।
पुस २२ गते मेयरकै कक्षमा पत्रकारमाथि भएको हातपात घटनापछि उत्पन्न परस्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रदीपराज कँडेलको संयोजनमा उपमहानगर र महासंघबीच घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने सहमति भएको थियो।
सो सहमति भएको दुई साता बितिसक्दासमेत दोषीलाई कानूनी दायरामा नल्याएकाले घटनामा संलग्नमेयरविरुद्ध किटानी जाहेरी दिनु परेको महासंघका अध्यक्ष मिश्रले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।