काठमाडौं– नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन्।
सर्वोच्च अदालतमा आफूविरुद्ध दायर भएका चार थान मुद्दामा भने कुरा गर्न उनले अस्वीकार गरे। सभामुख निवार्चित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए।
‘लोकतन्त्रको मूल्य, मान्यता तथा जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागिरहनेछु’, सापकोटाले भने, ‘अदालतमा मुद्दा विचाराधीन छ यसबारे अहिले कुरा नगरौं।’ सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन्। सिन्धुपाल्चोक १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।
पहिलो पटक सूचना तथा सञ्चार र दोस्रो पटक वनमन्त्री भएका सापकोटा तीन वर्षका लागि सभामुखको भूमिकामा देखिने छन् । उनलाई पत्रकारहरूले सर्वोच्च अदालतमा पक्राउ गर्न माग गर्दै परेको मुद्दा विचाराधीन रहेको विषयमा प्रश्न गरेका थिए। सापकोटाविरुद्ध २०६८ सालदेखि दायर भएका तीन र शुक्रबार दर्ता भएको एक थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।