काठमाडौं–काभ्रेका अर्जुन लामाको हत्याका आरोपी अग्निप्रसाद सापकोटाको परिचय फेरियो आइतबारबाट। उनी अब प्रतिनिधि सभामा सभामुख भइसके। तर अर्जुनकी श्रीमती पूर्णिमायाका नजरमा भने अग्निको छवि बदलिने देखिएन।
२०६२ सालमा अपहरणपछि अर्जुनको हत्या भएको थियो।
तत्कालीन माओवादी नेताहरु अग्नि सापकोटा र सुर्यमान दोङमाथि उनको हत्याको आरोप छ। यो मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेकै बेला नेकपाको उम्मेदवारको रुपमा सापकोटा आइतबार सभामुखमा निर्विरोध भए।
सभामुखमा सापकोटा निर्वाचित भएपछि दुःखी हुँदै पूर्णिमायाले नेपाल लाइभसँग भनिन्, ‘मान्छे (श्रीमान्) मारेर हिँडेकालाई कुर्सीमा राख्नुपर्ने? हामीले कहिले पनि न्याय नपाउने? गरिबलाई कानुन हुँदैन? सर्वोच्च अदालतको कुरा पनि नमान्ने, उहाँलाई कारबाही पनि नहुने। सरकारले पनि उहाँलाई नै समर्थन गरेर राख्ने। हामीले न्याय पाउनुपर्यो। मेरो मान्छे (श्रीमान्) मारेको मान्छेलाई कारबाही हुनुपर्छ।’
उनले भनिन्, ‘हाम्रो मान्छेको आजसम्म निर्णय भएको छैन। उनैलाई आज सभामुख बनाए। मैले श्रीमानको लास पनि देख्न पाएको छैन, सास पनि देखाएका छैनन्। सरकारलाई भन्न चाहन्छु– हामीले न्याय पाउने हो कि नपाउने हो? सरकारमा बसेको ठूलो मान्छेलाई कारबाही हुँदैन? सानो मान्छे, मान्छे होइनन्? गरिबलाई कानुन हुँदैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।