काठमाडौं- अग्नि सापकोटा नयाँ सभामुख चयन भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो। सभामुखमा उनको एकल उम्मेदवारी थियो।
नेकपाका सांसद सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए।
'जुन सदनको कल्पना गरेका छौं। संसदले जुन भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले कल्पना गरेका छौं। उहाँले त्यो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वासका साथ उहाँको नाम प्रस्ताव गर्दछु', नेम्वाङले भने।
प्रस्तावका समर्थनमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले बोलेका थिए।
घर्तीले सापकोटाले संसदलाई तटस्थ, जनपक्षीय र सन्तुलित ढंगले सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।
प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले पनि सम्बोधन गरेका थिए।
उनले कांग्रेस संसदीय दलको निर्णय पढेर सुनाएका थिए। सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो दलले समाभुखमा उम्मेदवारी नदिएको बताए।
उनले कांग्रेसले उपसभामुख पदमा बार्गेनिङ गरेर उम्मेदवारी नदिएको भन्ने चर्चाको खण्डन गरे। सभामुख र उपसभामुख पद फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले कांग्रेस कमण्डलु लिएर उपसभामुख पद माग्न संसदमा प्रस्तुत नहुने उनले बताए। 'हामीसँग मत पनि छैन। कमण्डलु लिएर माग्दैन', रिजालले भने।
उनले सापकोटाका विगत भन्दा आगत महत्त्वपूर्ण हुने बताए।
सभामुखमा सापकोटाको एकमात्र प्रस्ताव परेकाले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले उनलाई निर्विरोध सभामुख भएको घोषणा गरेका थिए।
उनले सापकोटालाई व्यक्तिगत र सभाको तर्फबाट बधाई दिए।
प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गतेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।