काठमाडौं– भनिरहनु नपर्ला, पछिल्लो समय नेपाली सिनेमा हलमा विदेशी फिल्मकै दबदबा छ, नेपाली फिल्म त प्रदर्शन नै भइरहेको छैन। बल्लतल्ल यो शुक्रवार अभिनेता अनुपविक्रम शाही अभिनित फिल्म ‘कमाण्डर’ प्रदर्शन त भयो तर हलको अवस्था उही सुनसान छ।
हलमा बल्लतल्ल नेपाली फिल्म रिलिज भएपनि दर्शकको नजर भने विदेशी फिल्मतिरै छ। र, अनुपलाई यसको मतलब पनि छैन। उनी आफ्नो फेसबुक वालमा विराज भट्टको फिल्मको ट्रेलर सेयर गरेर बसेका छन् तर यो फिल्म हेरिदिन दर्शकसँग कुनै अनुरोध गरेका छैनन्।
हाल टिभी रियालिटी शो हिमालय रोडिजको तेश्रो सिजनमा व्यस्त उनले यो फिल्मको प्रमोसनमा पनि कुनै चासो देखाएका थिएनन्। पछिल्लो समय अनुपका फिल्म लगातार बक्सअफिसमा फ्लप भइरहेका छन्।
सन्नी लियोनलाई नचाएर बनाइएको फिल्म ‘पासवर्ड’मा पनि उनी प्रमुख भूमिकामा थिए तर हलमा पुगेपछि फिल्मको व्यापारले उनलाई निराश बनाइदियो। यसअघि ‘कप्स’, ‘झमकबहादुर’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’ लगायत उनका थुप्रै फिल्म पनि फ्लप नै भए।
यो फिल्म पनि फ्लप नै होला भनेर लागेर हो कि क्या हो, अनुपले दर्शकलाई हेरिदिन अनुरोधसम्म गरेनन्। कि दर्शक जति बोलाए पनि नआएपछि थाकेका हुन्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।