अछाम- महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै पहिलो पटक मुलुकी फौजदारी संहिताअनुसार एक जनालाई जेल सजाय भएको छ। जिल्ला अदालत अछामले बिहीबार साँफेबग – ३ का छत्र रावतलाई ४५ दिन थुनामा राख्ने फैसला गरेको हो।
गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावत महिनावारी हुँदा छाउगोठ बसेकी थिइन्। २१ वर्षीया पार्वतीकाे छाउगोठमा चिसोले कठिग्रिएर मृत्यु भएको थियो। चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरीले छत्रलाई पक्राउ गरेको थियो। घरमा उनका सासु-ससुरा र श्रीमान् नभएकाले पार्वतीलाई छाउगोठ पठाएको अभियोगमा प्रहरीले जेठाजु छत्रलाई पक्राउ गर्दै मुद्दा दायर गरेको थियो।
छाउकोठमा महिलाको मृत्यु भएपछि फौजदारी संहितामा सजाय हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै आलोचना भएको थियो। लगत्तै महान्यायाधीवक्ता अग्नि खरेलले छाउगोठमा बस्न बाध्य पार्ने अभिभावकलाई कारवाहीको दायरमा ल्याउन निर्देशन दिएका थिए। खरेलले नेपाल प्रहरी र गृहमन्त्रालयका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएका थिए। लगत्तै गृह मन्त्रालयले सबै स्थानीय तहलाई छाउगोठमा बस्न बाध्य पार्नेलाई पक्राउ गरी मुद्दा दायर गर्न र जिल्ला प्रहरी कार्यालयलाई यसमा अनुसन्धान गर्न निर्देशन दिएको थियो।
गृहको उक्त निर्देशनपछि छत्र पक्राउ परेका थिए। घरको अभिभावकको रुपमा उनले बुहारीलाई छाउमा बस्न बाध्य पारेका कारण मृत्यु भएको सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
मुलुकी अपराध संहिताले सुत्केरी वा महिनावारी भएका महिलालाई छुवाछुत गर्न रोक लगाएको छ। अपराध संहिताको धारा १ सय ६८ को ३ बमोजिम छुवाछुत गर्ने र गराउने दुवैलाई कानुनी कारवाहीको व्यवस्था छ। छाउगोठमा पठाएमा ६ महिनासम्म कैद सजाय हुने व्यवस्था संहितामा रहेको छ। सोही कानुनका आधारमा जिल्ला अदालतले छत्रलाई जेल पठाउने फैसला गरेको हो।
फैसलापछि उनलाई जेल चलान गरिएको छ। छाउगोठमा पठाएबापत कोही जेल गएको अछाममा यो पहिलो घटना भएको जिल्ला अदालतले जनाएको छ। पछिल्लो समय कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा प्रहरीले गाउँगाउँमा पसेर छाउगोठ भत्काउने अभियान थालेको छ। सरकारले छाउपडी मान्नेलाई सरकारी सेवासुविधा नदिने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।