काठमाडौं– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले बैशाखको पहिलो साता संगठन पुनर्संरचनाका लागि सचिवालय तथा केन्द्रीय समिति बैठक बोलाएको छ।
युवा फाँट इन्चार्ज महेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले बैशाख २ गते सचिवालय तथा ३ र ४ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। केन्द्रीय समिति बैठकले युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ।
अध्यक्ष राजीव पहाडी प्रदेश सांसद भएपछि नेतृत्व चयन हुन लागेको हो। त्यस्तै, युवा संघका धेरै पदाधिकारीहरु प्रदेश सांसद तथा स्थानीय तहमा निर्वाचित भएकाले उनीहरुलाई संगठनको जिम्मेवारीबाट हटाएर पुनर्संरचना गर्न लागिएको हो।
युवा संघको अध्यक्षका लागि किरण पौडेल र रमेश पौडेल प्रतिस्पर्धामा छन। सकेसम्म सहमतिमा र नभए केन्द्रीय समितिका सदस्यहरुले निर्वाचनबाट युवा संघको नेतृत्व चयन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।