जनकपुर– ७० वर्षीया धनमाया बम्जन राति झँल्यास्स–झँल्यास्स ब्युँझन्छिन्। कटेरामा राखिएका दुई सन्तान सुकुमाया र मानबहादुर कसरी सुतिरहेका होलान् भन्ने लाग्छ। अनि टर्चको उज्यालोले हेर्छिन् उनीहरुलाई।
बाहिर शितलहर छ। छोराछोरीलाई जाडो भएजस्तो लाग्छ। अनि आफ्नै सारी ओढाउँछिन्।
भारी मन लिएर फेरि ओछ्यानतिर फर्कन्छिन् सुत्न।
निद्रा त के लाग्छ र? ओछ्यानमा पल्टिन्छिन् मात्र।
धनमायाका ७२ वर्षका पति बादल बमजनको पनि उस्तै हाल छ। आफैं काम गर्न नसक्ने उमेरमा छन्। तर बाध्यता । २० वर्षदेखि आफ्ना अपांग छोराछोरीको दिनरात स्याहारसुसारमा खटिएका छन्। जतिसुकै उमेर भए पनि छोराछोरीको माया बाबुआमालाई कति हुन्छ, यी बमजन दम्पतिलाई हेरे हुन्छ।
‘राति–राति उठेर टर्च लिएर यिनीहरूको सेवा गर्छु, आमा हुँ, कसरी मर्न दिऊ? मर्न दिन सक्दिनँ तर उपचार पनि गर्न सक्दिनँ,’ धनमाया भन्छिन्।
धनमाया र बादलको पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् सुकुमाया। तर उनको मानसिक सन्तुलन गुमेपछि बमजन दम्पतिको दुःखको दिन सुरु भयो। छोरीको उपचारका लागि हरसम्भव प्रयास गरे। धामी झाँक्री, अस्पताल सबैतिर पुर्याए। तर छोरीलाई निको भएन।
छोरीको उपचारमै भएको सबै सम्पत्ति सकियो। अनि, सिन्धुलीको रानीचुरीको घर, खेत, हल गोरु, बाख्रा सबै बेचेर उनीहरु थाँतथलो छाडेर तराई झरे– महोत्तरीको बर्दिबास ८ हात्तीलेटमा।
बादलले भने, ‘सम्पत्ति पनि सक्यो तर छोरी निको हुन सकिनन्, अहिले छोरी सुकुमाया ४५ वर्ष पुगिसकेकी छन् । उपचार गर्न नसकेपछि उनलाई २० वर्षदेखि एउटा कटेरोमा कोचेर राखेको छु ।’
धनमायाले सुरु सुरुमा छोरीलाई बाँधेर राख्थिन्। तर कत्ति बाँधेर राख्ने भन्ने लाग्यो। अनि कटेरोमा राख्न थालिन्। ‘अहिले त झन् उसको हालत देखेर रुनमात्र आउँछ,’ यतिभन्दै आँसु खसालिन् धनमायाले।
उनीहरुको दुःखमा छोरा मानबहादुरको नियति पनि थपियो।
जन्मिँदा बोल्न नसक्नेमात्र थिए मानबहादुर। अन्य शारीरिक अवस्था ठीक थियो। तर मानबहादुर पनि १२ वर्ष भएपछि हिँड्न नसक्ने भए। धनमायाले भनिन्, ‘त्यतिबेलासम्म बोल्न नसके पनि अरु काम सबै आफैं गर्थे, पछि हिँड्न नै नसक्ने भयो।’
दुवै सन्तान अशक्त हुँदा उनीहरुको उपचार गराउने आर्थिक हैसियत भएन बम्जन दम्पतिसँग। अनि कटेरोमा थुनेर राख्नुको विकल्प पनि भएन।
अहिले मानबहादुर ३० वर्षका भए। सपना देख्छन् कहिलेकाहीँ– छोरो ठीक होस्, अलिकता भएपनि कमाइ गरोस्, त्यसो भयो भने कम्तिमा पनि परिवार चलाउन हुने थियो।’
तर, यी वृद्ध दम्पतिको सपना, सपनामै सीमित छ।
तर आशा अझै मरेको छैन। ‘दुई सन्तानले उपचार पाएर आफ्नो ख्याल आफैँ गर्न सक्ने भए त्योभन्दा खुसी केही हुने थिएन,’ धनमाया भन्छिन्।
बादलले सम्पत्ति सकिएपछि छोरी ठीक हुने आशामा ७ पटकसम्म ठाउँ सर्दै बसेको सुनाए । ‘अहिले बाँसको झिक्रा भिक्रीको टाँट लगाएको सानो झुपडी र छेउमा २ असक्त बिरामी छोराछोरीलाई राख्ने कटेरा बनाएको छु, यही हो हाम्रो सम्पत्ति,’ उनी भन्छन्।
छोरोछोरीको स्याहारसुसारमा दिन जाने भएकाले खान धौ–धौ छ उनीहरुलाई। तातो ओढ्ने–ओछ्याउने पनि छैन। यस्तो अवस्था भए पनि कतैबाट पनि सहयोग नपाएको उनीहरुको गुनासो छ।
दुवै सन्तान पूर्ण अपांग भए पनि अपाङ्ग परिचयपत्र अहिलेसम्म उनीहरूले बनाउन सकेका छैनन् । पशु झैं दुई सन्तानलाई कटेरामा राखेर पाल्दासमेत स्थानीय सरकारले नदेखेझैं गरेको गुनासो दम्पतिको छ।
सामाजिक अभियन्ता नीलबहादुर लुम्रेले उनीहरूको उपचारको व्यवस्था मिलाउन र सहयोग गर्न स्थानीय सरकार चुकेको आरोप लगाए। उनले जेष्ठ नागरिक दम्पत्तीको आर्थिक अवस्था कमजोर भएकाले पशुको झैं जीवन बाँचिरहेका उनीहरूका सन्तान सुकुमाया र मानबहादुरको स्थानीय सरकारले उद्दार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनीहरूलाई संरक्षण गर्न उपचार पहिलो आवश्यकता भएको लुम्रेको भनाइ छ।
चिसो पीडितको नाम नगरमा पठाएको भए पनि उनीहरूले न्यानो ब्ल्यांकेटसमेत उनीहरूले सहयोग पाउन सकेका छैनन् ।
वडा ८ का अध्यक्ष शमसेरसिंह थिङले वडामा बजेट नभएकाले नगरले दिने न्यानोसमेत अहिले दिन नसकिएको स्वीकार गरे । गत पुसमा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सहितको टोली लगेर नागरिकता बनाइदिएको र आफूले उनीहरूको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिरहेको थिङले जनाए।
वृद्ध दम्पतिले नागरिक समाज, मानव अधिकारकर्मी र सञ्चारकर्मीसँग छोराछोरीको उपचारमा सहयोग जुटाउन पहल गरिदिन अनुरोध गरेका छन् ।
मुख्य तस्बिरः अपांगता भएका छोराछोरी स्याहार्दै ७० वर्षीया धनमाया बम्जन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।