काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतले ल्याएको नागरिकता कानुन अनावश्यक भएको बताएकी छिन्।
यूएईको भ्रमणमा रहेकी हसिनाले त्यहाको गल्फ न्युजसँग कुरा गर्दै यस्तो बताएकी हुन् । ‘हामीले बुझेका छैनौं किन भारत सरकारले गर्यो,’ उनले भनेकी छिन्, ‘यो अनावश्यक थियो।’
गत डिसेम्बरमा भारतले उक्त कानुन ल्याएयता बंगलादेशी प्रधानमन्त्रीको यो पहिलो वक्तव्य हो। भारतले ल्याएको नयाँ कानुनअनुसार बंगलादेश, अफगानिस्तान र पाकिस्तानका हिन्दू, बौद्ध, शिख, क्रिश्चियनलगायत त्यहाँका अल्पसंख्यकलाई सजिलै भारतको नागरिकता प्रदान गरिने छ।
हसिनाको सरकारले आफ्नो देशका अल्पसंख्यक हिन्दू समुदायले देश नछाडेको बरु भारतमै अल्पसंख्यकले धेरै समस्याको सामना गर्नु परेको बताउने गरेको छ। भारतले ल्याएको नागरिकता कानुनप्रति असन्तुष्टि जनाउँदै बंगलादेशले भारतसँगका धेरै उच्चस्तरीय भेटवार्ता रद्ध गरेको छ ।
बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन र गृहमन्त्री अस्डुजामन खानले भारत भ्रमण रद्ध गरेका थिए। त्यस्तै विदेश राज्यमन्त्री सहरिर आलमले भारतले आयोजना गरेको ‘राइसिना डायल’लाई सम्बोधन गर्न जाने कार्यक्रम अन्तिम समयमा रद्ध गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।