काठमाडौं– नेकपा एमालेका नेता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको पहुँच नभएका क्षेत्रमा बहुआयामिक गरिबी रहेको बताएका छन्।
६१औं सहकारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता बडालले प्रदेश ६ मा सबैभन्दा बढी बहुआयामिक गरिबी रहेको बताए।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौंमा हुन लागेको दोस्रो सहकारी सम्मेलनका विषयमा समेत जानकारी दिइएको थियो। ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ भोलिदेखि काठमाडौंमा दोस्रो सहकारी महासम्मेलन हुँदैछ।
उनले सहकारीको पहुँच कम पुगेको स्थानका विभिन्न पाटोमा गरिबी रहेको उल्लेख गरे। तथ्यांक अनुसार प्रदेश ६ मा सबैभन्दा बढी ५१ प्रतिशत बहुआयामिक गरिबी छ भने सबैभन्दा कम प्रदेश ३ मा १२ प्रतिशत बहुआयामिक गरिबी छ।
कुन प्रदेशमा कति बहुआयामिक गरिबी?
नेपालको सहकारी अभियानको हालसम्म भएका उपलब्धिहरुको समीक्षा गर्दै आगामी ५ वर्षका लागि दिशानिर्देश गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महासम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष बडालले बताए।
महासम्मेलनले कृषि तथा गैरकृषि क्षेत्रको विकास, पुँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्य लिएको छ। महासम्मेलनमा भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तान लगायत मुलुकका सहकारी अभियानकर्मीको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।