कास्की– भारी हिमपातका कारण अन्नपूर्ण आधार शिविरमा बेपत्ता पर्यटकको खोजी कार्य जारी रहेको उद्धारकर्ताहरुले बताएका छन्। बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोका कारण घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक बेपत्ता भएका थिए।
उनीहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले हिम पहिरो भन्दा पनि ढिस्को आएको र बेपत्ता पर्यटकको खोजीकार्य जारी रहेको बताए। ‘हिम पहिरो आएको भनिएको छ, सत्य होइन,’ कुँवरले नेपाल लाइभसँग भने, ‘हिउँको ढिस्को आएको हो। बेपत्ता भएकाहरुको खोजकार्य जारी छ।’
भारी हिमपात भएकाले बेपत्ता भनिएका कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने उनले बताए। हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन्।
११० जना विदेशीकाे उद्धार
कुँवरले अन्नपूर्ण र माछापुच्छे आधार शिविर क्षेत्रमा अलपत्र परेका परेका पर्यटकको उद्धार कार्य जारी रहेकाे जानकारी दिए। उनले शनिबारसम्म ११० जना विदेशी पर्यटकको उद्धार गरी हेलिकप्टरमार्फत् पोखरा ल्याइएको बताए।
जिल्लास्थित दैवी प्रकोप उद्धार समिति, अन्नपूर्ण गाउँपालिका, टान र प्रहरीले संयुक्त रुपमा उद्धारको काम गरिरहेका छन्। त्यस क्षेत्रमा करिब ३५ देखि ४० नेपाली होटेल व्यवसाय गरेर बसेका र उनीहरुको आज उद्धार हेने कुँवरले जानकारी दिए।
अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली लगायतका क्षेत्रमा भारी हिपपात भएकाले त्यहाँ जान निकै कठिन भएको उनले बताए।
फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।