कञ्चनपुर- भीमदत्त नगरपालिका-१९ बागफाँटाको हलिया बस्ती हस्तान्तरण गरिएको छ। हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटी घरको तालाचाबी खोलेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बस्तीको हस्तान्तरण गरेको घोषणा गरेकी हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुनर्स्थापना कार्यक्रमअन्तर्गत निर्माण गरिएको नमुना बस्ती कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो। एकीकृत बस्ती नै निर्माण गरेर हलिया बस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो पटक हो।
त्यस अवसरमा बस्ती हस्तान्तरण गर्दै अर्यालले कोही पनि भूमिहीन सुकुम्बासी नहुने अभियानमा सरकार अगाडि बढेको बताइन्।
हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुनर्पहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने उनले बताइन्। मन्त्री अर्यालले भनिन्, 'पहिचान भएकालाई पहिला व्यवस्थापन गरौं। बाँकी छुट रहेकालाई पनि सरकारले कुनै न कुनै ढंगले सम्बोधन गर्छ।'
यसैगरी मन्त्री अर्यालले सरकारले हलियाका नाममा दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्ने बताइन्। 'जसको जग्गा हो उसैले कमाउनुपर्छ। सरकारले दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्छ,’ मन्त्री अर्यालले भनिन्।
राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै उनले सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।