धनगढी- छाउ(महिनावारी) भएको बेला बाटो छोएको भन्दै कञ्चनपुर बेलडाँडाका दुई महिलामाथि कुटपिट गरिएको छ।
प्रहरी प्रशासनले विभिन्न सामाजिक संस्थासँग मिलेर समाजमा कथित धार्मिक प्रथाको रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा हटाउन छाउगोठ हटाउने अभियान थालेकै बेला कञ्चनपुरको बेल्डाँडीमा दुई महिलालाई छाउ (महिनावारी) भएको बेला घरनजिकै बाटो छोएको भनेर कुटपिट गरिएको हो।
शुक्रबार बेल्डाँडी गाउँपालिका-१ की गीता खड्का र उनकी जेठानी इश्वरी खड्कालाई घरनजिकै रहेको बाटो छोएको भन्दै स्थानीय छिमेकी दलबहादुर शाह र उनकी श्रीमती निरुला शाहले कुटपिट गरेका हुन्।
‘महिनावारी भएको पाँचौं दिन पुगेको थियो। साँझ ८ बजेतिर म र जेठानी (इश्वरी) आफनै घर छेउको बाटोमा हिँड्दै थियौं। महिनावारी भएको बेला यो बाटोमा किन हिँडेको भन्दै अपशब्द बोल्दै दलबहादुर र उनकी श्रीमती निरुताले एक्कासी कुटपिट गरे,’ गीताले भनिन्‚ ‘जहिले त्यो (दलबहादुर)ले हामी महिनावारी भएको बेला बाटोमा नहिड्नु भनेर गालीगलौज गर्थ्यो। तर, शुक्रबार भने गालीगलौजमात्र होइन श्रीमान श्रीमती दुइटै मिलेर कुटपिट नै गरे।’
महिनावारी भएको बेला बाटो छोएको भन्दै शाह दम्पत्तिबाट कुटाइ खाएकी इश्वरी आफूले छोएको बाटोमा कुनै धार्मिक स्थल नभएको बताउँछिन्। ‘दलबहादुरले भैंसी पालेका छन्। महिनावारी भएका महिला घरको बाटोमा हिँड्दा भैंसीलाई समस्या हुन्छ भनेर गाली गर्ने गर्थ्यो। यसपटक भने श्रीमान श्रीमती मिलेर पिटे।’ इश्वरीले भनिन्।
गीता र इश्वरीलाई शाह दम्पत्तिले कुटपिट गरिरहेको थाहा पाएपछि स्थानीयहरुले छुटाएका थिए। शाह दम्पत्तिको जमिनमा बस्दै आएका खड्का र शाह परिवारको हिँड्ने बाटो एउटै हो। खड्का परिवार आरक्षपीडित हुन्।
कुटपिटका कारण इश्वरीको घाँटी, टाउकोसँगै ढाडमा चोट लागेको थियो। उनीहरुको बेल्डाँडीमा उपचार हुन नसकेपछि शनिबार बिहान धनगढीस्थित नोभा अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो। उपचारपछि उनीहरु शनिबारै घर फर्किएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
महिनावारी भएको बेला बाटो छोएको भन्दै खड्का दिदीबहिनीलाई कुटपिट गर्ने दलबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।
घटना बाहिरिएपछि चौतर्फी रुपमा विरोध भइरहेको छ।
अहिले सरकारले छाउपडी प्रथा नियन्त्रण गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको बेला महिनावारी भएको भन्दै बाटोमा पनि हिँड्न नपाउनु राम्रो नभएको महिला अधिकारकर्मीहरु बताउँछन् ।
कञ्चनपुर महिला अधिकारकर्मी माया नेगीले सरकारले छाउपडी प्रथा उन्मुलनका लागि देशव्यापी अभियान चलाएकै बेला कञ्चनपुरमा घटेको घटनाले अझैपनि पुरातन सोचविचार भएका केही व्यक्तिका कारण सरकारको अभियान निरर्थक बनाउने षड्यन्त्र भइरहेको बताइन्।
नेगीले घटनाको सत्यतथ्य छानिबन गरेर पीडित महिलाको उपचार र न्यायका लागि कुनैपनि कसर बाँकी नराख्न माग गरिन्। घटनामा चलखेल गरे त्यसविरुद्ध आन्दोलन छेड्नेसमेत महिला अधिकारकर्मीले चेतावनी दिएका छन्। दलबहादुरले भने आफ्नी श्रीमती र ती दुई महिला (गीता र इश्वरी) बीच जग्गा विवादमा झडप हुँदा आफूले छुट्याउन खोजेको बयान दिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।