दाङ- कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ।
'यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन्?' भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन्। खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो। 'ड्रागन फ्रुटको बिरुवा लगाएको दुई/तीन वर्षपछि मात्रै फल दिन्छ', मगरले भने, 'तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो।'
नौ महिनामै फलेपनि अझै परिपक्क भएको छैन। पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो। 'एउटै बोटबाट तीन/चार केजी फल लाग्छ', उनले भने, 'त्यतिबेला करिब चार/पाँच टन उत्पादन होला।
दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले बताए। उनले भने, 'अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ।' अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन्।
रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती विस्तार गर्न ध्यान दिनुपर्ने उनकाे सुझाव छ। 'यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ', मगरले भने। नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन। न्यून मात्रामा भियतनाम लगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ।
विदेशी ड्रागन फ्रुट रु ७ सयदेखि १ हजार ९ सयसम्म किनबेच हुने गर्छ। आफू मन्त्री हुँदा चीन गएको बेला उनले ड्रागन फ्रुट खाने अवसर पाएपछि यसबारेमा चासो लिँदै आएका छन्। पूर्वमन्त्री मगरले भने, 'त्यतिबेला यो फललाई नेपालमा उत्पादन गरे कस्तो हुन्छ होला भन्ने सोच बनाएको थिए।' नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ। आफूले १५ वर्षदेखि यस खेतीका बारेमा जानकारी लिँदै आएको उनको भनाइ थियो।
तराईमा यो खेतीका लागि हावापानी उपयुक्त भएकाले दाङमै आएर खेती गरेको उनले बताए। पूर्वमन्त्री मगरले लामो समय बाँझो रहेको तीन बिघा छ कट्ठा जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएर खेती थालेका हुन्। जग्गा १५ वर्षका लागि रु ४० लाखमा भाडामा लिएको हो। धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ। त्यही डिप बोरिङ बनाएर हप्तामा दुई/तीन पटक सिँचाइ गर्ने गरिएको छ।
यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ। ड्रागनका तीन प्रकारका बिरुवा भए पनि आफूले बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि सेतो हुने दुई प्रकारका बिरुवा लगाएको उनकाे भनाइ थियो।
रातमा मात्रै फल्ने ‘रातकी रानी’
यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ। यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ।
फूल फुलेको चार/पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उनकाे भनाइ छ। फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १ सय ५० ग्रामदेखि एक किलोसम्मको हुन्छ।
राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ। ड्रागन सिउँडी प्रजातिको फल हो। दाङमा ड्रागन नौलो फल मानिएको छ। अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यवसायिकता पाउन थालेको छ।
गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ। जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ। फल खाँदा मीठो नभए पनि औषधि गुणले भरिपूर्ण रहेको छ।
यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले बताए। लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उनकाे भनाइ थियो। रासस
तस्बिर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरकाे फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।