राजविराज- राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै निर्माण कार्यमा सहजता ल्याउन सप्तरीमा समन्वय तथा संवाद समिति गठन गरिएको छ।
सप्तरी उद्योग वाणिज्य संघले शुक्रबार राजविराजमा आयोजित ‘सप्तरीको समग्र विकासको सन्दर्भमा बृहत छलफल कार्यक्रम’ मा उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको संयोजकत्वमा समन्वय तथा संवाद समिति गठन गरिएको हो।
कार्यक्रममा बुद्धिजिवी, व्यापारी÷व्यवसायी तथा सामाजिक अभियन्ताहरुको उपस्थिती थियो। संघीय मन्त्रिपरिषद्ले निर्णय गरेको १ वर्ष बितिसक्दा पनि सामान्य समस्याका कारण प्रतिष्ठान निर्माणको काममा कुनै प्रगति नदेखिएपछि कार्यक्रमका सहभागिहरुले समिति गठन गर्न प्रस्ताव गरेका थिए।
२०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।
समितिले प्रतिष्ठान निर्माणमा देखिएको ढिलासुस्तीको यथार्थ पहिचान गरी सहज वातावरण तयार गर्ने विषयमा काम गर्ने संयोजक प्रधानले बताए।
यसकारण समिति गठन
प्रतिष्ठान निर्माणका लागि अर्थ मन्त्रालयले कार्यालय व्यवस्थापनतर्फ ५० लाख र भौतिक पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ छुट्याएको छ।
गत जेष्ठ १२ गते प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयसमेत स्थापना भएको छ।
प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. रोहित पोख्रेल नियुक्त भएका छन् भने स्वास्थ्य मन्त्रालयले काठमाडौंस्थित वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइबिटोलोजिस्ट प्रा डा सञ्जयकुमार ठाकुरलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ।
मन्त्रिपरिषदको निर्णयसँगै पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका–१०, स्थित बिरौलमा ६२ बिगाह जग्गासमेत खोजिएको छ। प्राविधिक कुरा टुङ्गिएका छन्।
तर, प्रतिष्ठानका लागि प्रस्तावित जग्गामा विवाद देखिएपछि वन मन्त्रालयबाट स्वीकृत भएको फाइल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा थन्किएको छ। जसका कारण अर्थ मन्त्रालयले छुट्याएको कार्यालय व्यवस्थापनको ५० लाख र भौतिक पूर्वाधार निर्माणको ४० करोड रुपैयाँसमेत खर्च हुन सकेको छैन।
अर्कोतर्फ नियुक्त भएपछि एक पटक राजविराज आएका अध्यक्ष पोखरेल पुनः राजविराज फर्किएका छैनन्। सबै प्रक्रिया पुरा भएर पनि निर्माण कार्यमा भएको ढिलाइले स्थानीयबासी तथा सरोकारवाला चिन्तित छन्। ‘राज्य संचालकहरुको सप्तरीलाई हेर्ने दृष्टिकोण नै फरक छ। प्रतिष्ठानको काम हुन नसके झन बदनाम हुन्छ‚’ जिल्ला विकास समितिका पूर्व सभापति सत्येन्द्र यादवले भने‚ ‘प्रतिष्ठान नबन्ला भन्ने एउटा चिन्तामाथि सप्तरी अझै बदनाम होला भन्ने अर्को चिन्ता छ।’
सप्तरीमा प्रतिष्ठान बन्न नदिने हल्ला र निर्माण कार्यमा सरकारको ढिलाइले सप्तरीबासीमा थप चिन्ता बढाएको उनले बताए। कार्यक्रममा डा. मुरलीप्रसाद सिंह, डा. चिन्तामणी चौधरी, सेवा निवृत्त नापी विभागका महानिर्देशक रामनरेश सिंह, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गौरिशंकर शाह लगायतले प्रतिष्ठान निर्माणमा देखिएका समस्या समाधानमा सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।