काठमाडा– गायक जेबी टुहुरे सर्लाहीको हरिवनमा गुन्जिएका छन्। हरिवनको श्रवण द्वन्द पीडित बालगृहमा आयोजित ‘जेबी टुहुरे एकल गायन’कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरु सुनाएका थिए।
कार्यक्रममा ‘आमाको माया’ बोलको गीतबाट गाउन सुरु गरेका उनले प्रगतिवादी सांस्कृतिक अभियानमा आफूले गाउँदै आएका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए। उनले ‘बसाई हिड्नेको तातीले’, ‘दुःखको बोझ विसाउन’, ‘पानी चल्दैन रे’, ‘बरु मेरो छाती छेड्ला’ लगायत एक दर्जन बढी गीतहरु गाएर सुनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत टुहुरेका गीतमा खुलेर रमेका थिए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले हरिवन नगरपालिकाको तर्फबाट टुहुरेलाई अभिनन्दन समेत गरेका थिए। टुहुरेका गीतमा झुमेपछि उनले शुभकामना दिँदै भनेका थिए, ‘प्रगतिवादी सांगितिक अभियानमा उहाँले पु¥याउनुभएको योगदान बिर्सन सकिँदैन। यसरी नै गायनमा निरन्तर अघि बढ्न उहाँलाई प्रेरणा मिलिरहोस्।’
चेतना सन्देश नेपालको आयोजनामा टुहुरेको एकल गायन सम्पन्न भएको थियो। टुहुरेलाई एकल गायनमा प्राज्ञ उदय श्रेष्ठ, सांसद मधु गुरुङ, कलाकार आकाश थापा र गंगा राईले पनि साथ दिएका थिए। त्यस्तै बाद्यबादनमा मनोहर सुनाम, अनुप दास, भरत बुढाथोकी, राम सुस्लिङ, पोषण घर्ती, गोपालदेव घतानी, राहुल भुजेल, शशिभुषण भट्टराई र दिवस श्रेष्ठले साथ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।