क्रिभ- युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन्।
राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन्।
उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
‘हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस् भन्ने उद्देश्यसँगै राष्ट्रपतिप्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,’ ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्।
उनले सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाएका छन्। ‘त्यो अडियो सत्य होईन,’ उनले भनेका छन्।
उनले सन् २०१९ अगस्टबाट प्रधानमन्त्रीको पद सम्हालेका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।