जनकपुर– प्रदेश २ का मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीहरुको तस्बिरमा सार्वजनिक स्थल मै जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित तस्बिरमा जुत्ता हान्न थालेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहँदा मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुको तस्बिरमा सार्वजनिकस्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ ।
गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत् वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तर रुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् ।
यसअघि उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानी माग्दै भौतिक पूर्वाधार विकास कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । त्यसैगरी उनीहरुले दुई साताअघि प्रदेशसभाअगाडि विरोध प्रदर्शनसमेत गरेका थिए।
यता भुक्तानीका कारण प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै केही सांसदहरुले प्रदेशसभा अवरुद्ध गरेपछि अहिले अनिश्चितकालका लागि प्रदेशसभा बैठकसमेत स्थगित गरिएको अवस्थामा छ।
अर्कोतर्फ मापदण्डविपरीत विकास निर्माणको काम भएको भन्दै मन्त्रालयका कर्मचारीहरु आफू फस्ने डरले भुक्तानी नदिने अडानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।