नयाँ दिल्ली- भारतमा एकपछि अर्को विश्वविद्यालयमा आक्रमणका घटना भइरहेका छन्। जावहरलाल नेहरु विश्वविद्यालयमा भएको झडप सेलाउन नपाउँदै अर्को विश्वविद्यालयमा भिडन्त भएको छ।
यसअघि जामिया विश्वविद्यालयमा झडप भएको थियो। दिल्लीका यी दुई विश्वविद्यालयपछि अब यो रोग पश्चिम बंगालमा सरेको छ। पश्चिम बंगालको बीरभूम जिल्लाको शान्ति निकेतनमा जेएनयुजस्तै घटना भएको हो। नोवेल पुरस्कार विजेता भारतीय कवि रबिन्द्रनाथ टैगोरले स्थापना गरेको विश्व भारती विश्वविद्यालय अशान्तिको अखडा बनेको हो।
बुधबार राती यस विश्वविद्यालयको एक सेक्सनमा जेएनयुजस्तै हिंसा भएको हो। अखिल भारतीय विद्यार्थी परिषद(एबीभीपी) सर्मथक छात्रहरुले बुधबार राती अनुहारमा मास्क लगाएका वामपन्थी सर्मथित विद्यार्थीहरुमाथि आक्रमण गरेका हुन्।
यो भिडन्तमा दुई विद्यार्थी गम्भीर रुपमा घाइते भएका छन्। उनीहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको भारतीय समाचार एजेन्सीले जनाएका छन्। यो घटनाप्रति ममता बनर्जीको तृणमूल काँग्रेसले सत्ताधारी दल भारतीय जनता पार्टीका विद्यार्थीको संलग्नता रहेको दाबी गरेको छ। तर एबीभीपीले यो घटनामा आफ्नो हात नरहेको दाबी गरेको छ।
शान्ति निकेतन प्रहरी चौकिमा यस घटनाबारे उजुरी दर्ता भएको छ। तर अहिलेसम्म प्रहरीले कसैलाई पनि यो घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छैन। विश्वभारतीमा गत साता भाजपा सांसद स्वपन दास गुप्ताले एक कार्यक्रम राखेका थिए।
उनलाई उक्त कार्यक्रम बहिष्कार गरेको भन्दै चार घन्टाभन्दा लामो समयसम्म विश्वविद्यालयको कक्षा कोठामा थुनिएको थियो। यही घटनापछि बिजेपी र बामपन्थी सर्मथक विद्यार्थीहरुका बीचमा तनाव भएको थियो। यही घटनाको बदला लिन बिजेपी सर्मथक विद्यार्थीहरुले मास्क लगाएर बामपन्थी विद्यार्थीहरुमाथि आक्रमण गरेको आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।