हेटौंडा- जिल्ला अदालत मकवानपुरले पत्रकार मनोहर ढकालको हत्या गरेकाे आराेपमा २ जनालाई दाेषी ठहर गरेकाे छ।
जिल्ला अदालतले हत्या र लुटपाटमा दाेषी ठहर गर्दै कुल ३९ वर्ष कैदकाे फैसला सुनाएकाे हाे।
२ मुद्दामा याे सजाय सुनाएकाले अधिकतम सजाय मात्र उनीहरुकाे हकमा लागू हुने छ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहनगरपालिका-११ का अनमोल पुडासैनी र हेटौडा उपमहानगरपालिका-१२ का प्रविण वाईवालाई सजायको फैसला सुनाएको हो।
उनीहरूबाट हेटौंडा उपमहानगरपालिका-११ नवलपुरका ढकालको हत्या भएको ठहर गर्दै उक्त फैसला गरेको हो।
ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात् २५ वर्ष र डकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले बताए।
ढकालको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।