काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न सकिने बताएका छन्।
२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्।
'सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिन्छ,' उनले भने, ‘सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो। नागरिकलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ।'
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उनले बताए। नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनले भनाइ थियो। भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताए।
पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना जगाईंदै छ। गृह मन्त्रालयले सातै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७ सय ५३ वटै स्थानीय तहमा जनचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिएको छ।
भूकम्पबारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको हो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।