काठमाडौं–दुई देशबीचको बढ्दो ‘व्यापार युद्ध’ कम गर्न चीन र अमेरिकाले पहिलो चरणको सम्झौता गरेका छन् । बुधबार वासिङटनमा अमेरिका र चीनबीच सम्झौता भएको हो ।
वासिङटनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले अमेरिकी अर्थतन्त्रका लागि सम्झौता ‘रुपान्तरणकारी’ हुने बताएका छन् ।
चिनियाँ नेताहरुले यसलाई ‘वीन–वीन’ सम्झौता भन्दै दुई देशबीचको सम्बन्धलाई समधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
२२ महिनाको व्यापार गतिरोध र दर्जनौं कठिन वार्ता प्रयासपश्चात दुई देश सम्झौतामा पुगेका हुन् । दुई देशबीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षरले दुई देश र विश्वभरको व्यापारका लागि अतिआवश्यक सुनिश्चिता र राहत प्रदान गर्ने ठानिएको छ ।
तर, दुई देश व्यापारलाइ लिएर आफूहरुबीचमा रहेको गहिरो मतान्तर रचनात्मक रुपमा निरुपण गर्न सफल होलान् या नहोलान भन्नेचाहिँ विश्लेषकहरुले आशंका व्यक्त गरेका छन् ।
सम्झौतामा के छ ?
चिनियाँ उपप्रधानमन्त्री ल्यू हि र अमेरिकी राष्ट्रपतिले हवाइट हाउसमा एक समारोहबीच गरेको सम्झौतामा चीनले सन् २०१७ कै तहमा करिब २ सय अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयतालाई बढावा दिने छ ।
त्यस्तै चीनले बौद्धिक सम्पदा नियमलाई पनि थप मजबुत बनाउने प्रतिबद्धता गरेको छ । त्यसको बदलामा अमेरिकाले चिनियाँ उत्पादनमा लगाएको केही नयाँ प्रवेश शुल्कलाई आधा गर्ने सहमति जनाएको छ ।
जालसाजीविरुद्ध चीनले कडा कदम चाल्ने र ‘व्यापार गोपनीयता’ चोरीविरुद्ध कानुनी कारबाही चलाउन कम्पनीहरुलाई सहज बनाइदिने छ ।
अमेरिकाले करिब ३६० अर्ब अमेरिकी डलर बरारको चिनियाँ समानमा २५ प्रतिशत मात्रै प्रवेश शुल्क काम गर्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।