सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–४ स्थित पर्यटकीय बराहताल पुननिर्माण गरिने भएको छ। राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास बोर्डका अनुसार पुनर्निमाणका लागि ८ करोड ४१ लाख ४७ हजार ३ सय पाँच रुपैयाँ लागतसहितको पाँच वर्षे गुरुयोजना तयार गरिएको छ ।
घना जंगलको बीचमा ६० हेक्टर जम्मा क्षेत्रफल र १२ हेक्टरमा फैलिएको बराहताल सुर्खेतका पर्यटकीय क्षेत्रमध्येको एक मानिन्छ। यसलाई सुर्खेतको ‘रारा ताल’ वा कर्णालीको दोस्रो रारा पनि भन्ने गरिएको छ। यो ताल सुकेसंगै स्थानीय, प्रदेश तथा चुरे संरक्षण बोर्डले पुन निर्माणका लागि चासो देखाएका हुन्।
बुधवार पर्यटन मन्त्रालयमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास बोर्डले ताल पुनर्निर्माण र संरक्षणबारे कार्ययोजनाको तयारीबारे विस्तुत प्रतिवेदन सार्वजनिक गरेको हो।
कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बराहतालको उत्थानका तीनै तहको सरकारले छिटोभन्दा छिटो तालको पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए ।
‘अहिले प्रदेश सरकारको १० लाख र राष्ट्रपति चुरे संरक्षणको ७२ लाख गरी कुल ८२ लाखको कामको प्रक्रिया अगाडि बढ्दैछ,’ उनले भने,’ छिटोभन्दा छिटो काम सम्पन्न गर्न सके थप पर्यटक बढ्नेछन्। यस्तै कर्णाली प्रदेश सभाका सदस्य बिन्दमान बिष्टले तालमा आफैं पानी निकालेर या लिफ्टिङमार्फत् जसरी भए पनि तालको स्वरुप बिग्रन नदिन सबैले पहल गर्नुपर्ने बताए ।
यो तालमा १७ प्रजातिका चरा थिए। तीमध्ये पनि केही पखेटा नभएका चरा पनि थिए । पानी सुकेसँगै तालमा भएका थुपैं प्रजातीका जनावर र चरा लोप भएका छन्। बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले ताल पुनर्निर्माणका लागि तीनै तहका सरकारको एउटै योजना सहित २ वर्षभित्र काम सम्पन्न गरी तालको स्वरुप पहिलेको जस्तै बनाउन सरोकारवालासँग अनुरोध गरे। उनले स्थानीय तहले पनि स्रोत साधनले सकेजती बजेटको व्यवस्था गर्ने भन्दै संघीय, प्रदेश र राष्ट्रपति चुरे संरक्षण बोर्डले तालको पुननिर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष बस्नेतका अनुसार २०५६ सालमा पनि बराह तालमा पानी सुकेको थियो । त्यसबेला ‘बराह’ देवताको पुजा गरेपछि ताल पुनः भरिएको थियो । अहिलेको हिउँद लागेसँगै तालमा पानी सुकेको अध्यक्ष बस्नेतको भनाइ छ। ‘२०७२ सालमा आएको भुकम्पपश्चात् तालमा पानीको मात्रा घट्दै आएको थियो । अहिले हिउँदे सिजन सुरु भएसंगै ताल सबै सुक्यो,’ उनले भने ।
पानी सञ्चित गर्न सघाउ पु¥याउने खालका बोटविरुवा रोप्नुपर्ने र जथाभावी सडक बनाउँदा डोजरको प्रयोग रोक्नुपर्ने वातावरण विज्ञले सुझाव दिएका छन्। स्मार्ट इन्जिनीयरिङ एण्ड डिजाईन सोलुसन प्रालि ललितपुरले तयार पारेको कार्ययोजनामा ताललाई पहिलेकै अवस्थामा फर्काउन भेरीको पानी लिफ्टिङमार्फत् ल्याउने कि सोही तालबाटै पानी निकाल्ने विकल्प दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।