धनगढी– धनगढीमा बुधवार राति मुख्य बजारमै युवाहरुबीच झडप भएको छ। राति साढे १० बजे धनगढी उपमहानगरपालिका १ अस्पताल लाईनमा युवाहरुको दुई समूहबीच झडप भएको हो।
युवाहरुको एक समूहले धनगढी उपमहानगरपालिका १ अदालत रोडका समिर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो। आक्रमणपछि गम्भीर घाइते तियालीलाई कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
उनले आक्रमणमा संलग्न दुई जनालाई राति नै पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा धनगढी उपमहानगर ५ बस्ने २२ वर्षीय चन्द्र भाट र २१ वर्षीय शुभम शाह रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ। अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुडा गरेपछि अस्पतालमा पनि क्षति भएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बस्नेतले घटनामा संग्लन थप २ जनाको खोजी भईरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।