तेहरान- इरानका सर्वोच्च धार्मिक नेता अयातोल्ला अलि खामेनीले यस हप्ताको शुक्रबार तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्ने इरानी अधिकारीले बताएका छन्।
राज्य सञ्चालित समाचार संस्था (आइआरएनए)ले बुधबार इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानमा हुने प्रार्थनासभामा सात वर्षपछि खामेनीको उपस्थिति रहने बताएको हो। तेहरानमा हुने इमाम (प्रार्थना) का लागि मुख्य व्यक्ति खामेनी नै भएपनि उनले उक्त जिम्मेवारी आफ्ना प्रतिनिधिमार्फत् सञ्चालन गर्दै आएका थिए।
खामेनीले यसअघि तेहरानस्थित मोसल्ला मस्जिदमा सन् २०१२ को फेब्रुअरीमा प्रर्थनाको नेतृत्व गरेका थिए। सो समय ईस्लामिक क्रान्तिको ३३ औँ वार्षिक उत्सव र इरानले आणविक विषयका कारण सङ्कट झेलेका समय नेतृत्व दिएर एकताका लागि सम्पूर्ण इरानीलाई प्रोत्साहन गरेका थिए।
खामेनीको उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएका इरानी विशेष सुरक्षा बलका प्रमुख कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा भएको अमेरिकी आक्रमणमा मृत्यु र प्रत्युत्तरमा तेहरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा गरेका आक्रमणका क्रममा इरानी नागरिकसमेत रहेको यूक्रेनी विमान खसालिएपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै इरानी सर्वोच्च नेताले सक्रियता देखाएका हुन्।
यूक्रेनी विमानलाई ‘भुलवश’ शत्रुद्वारा हानिएको ‘क्रुज मिसाइल’ भनी खसालेपछि इरानको राजधानी तेहरानमा सरकारविरोधी नारा लागेको थियो। त्यसपछि सबैलाई अमेरिकाविरूद्ध एकताबद्ध गर्न उनले प्रार्थनाको नेतृत्व गर्न लागेको अनुमान गरिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।