काठमाडौं- विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा माघ ११ गते माउन्ट एभरेस्ट फेसन रनवे हुने भएको छ। जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ फेसन रनवे हुन लागेको हो।
नेपाल मेडिसिटी अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी रनवे कार्यक्रमका लागि मेडिकल टिम र आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिएको छ।
५ हजार १ सय ६४ मिटर उचाइमा रहेको आधार शिविरमा हुन लागेको फेसन कार्यक्रम पहिलो भएको आयोजक कासा नेपालको दावी छ। आधार शिविरमा यसरी पहिलो पटक फेसन रनवे हुन लागेकाले गिनिज वर्ल्ड रेकर्डमा दावी गर्ने उनीहरुको भनाइ छ।
रनवेका लागि सहभागी कलाकारले लुक्लाबाट कार्यक्रम स्थलसम्म र त्यहाँबाट लुक्लासम्म १४ दिनको पैदल यात्रा गर्ने मेडिसिटी अस्पतालका लागि महाप्रबन्धक विजय रिमालले बताए। रनवेमा नेपालसहित इटाली, भारत, श्रीलंका, सिंगापुर, नाइजेरिया र जमाइकाका गरी ५० जना कलाकार सहभागी हुँदै छन्।
रनवेमा आकस्मिक स्वास्थ्य समस्या देखापरे उनीहरुलाई तत्काल हवाई उद्धार गरी अस्पताल ल्याउने व्यवस्था मिलाइएको रिमालले जानकारी दिए। तस्बिर (https://www.wikiwand.com)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।