काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको भन्दै पूर्व सांसद विश्वनाथप्रसाद यादवसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पूर्व सांसद यादव, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत, भागवत यादव, हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको हो।
उनीहरुले एउटा प्रयोजनका लागि गठित उपभोक्ता समितिको कागजात सच्याई गलत उपभोक्ता समिति गठन गरेको र गलत कागजातका आधारमा सम्झौता गरेको अख्तियारले जनाएको छ। उनीहरुले सम्झौतामा खुलाउनुपर्ने विवरणसमेत नराखेको जनाइएको छ। सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय सिरहासँग सम्झौता गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा उनीहरुले अनियमितता गरेको खुलासा भएको थियो।
आरोपीमध्ये राजकुमार गोइतर भागवत यादवलाई २५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड च मा उल्लेखित सजायको आधा कम हुन माग गरिएको छ। यस्तै, पूर्वसांसद विश्वनाथ यादव, हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई २५ लाख बिगो र सोही ऐनको दफा ८ को उपदफा ४ मा उल्लेखित सजायको आधा सजाय मागदाबी गरिएको छ।
(यसअघि प्रकाशित समाचार अन्यथा पर्न गएकाले सच्याइएको छ। सं)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।