काठमाडौं- रुसी विदेशमन्त्री सर्गेइ ल्याभ्रोभले अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्ट्रटाटेजी (आइपिएस) ‘विभाजनकारी’ भएको दाबी गरेका छन्।
भारतमा मंगलबारबाट सुरु भएको ‘राइसिना डायलग’मा बोल्दै ल्याभ्रोभले यस्तो टिप्पणी गरेका हुन्। आइपिएस चीनलाई ‘अलग’ गर्न ल्याइएको पनि उनले दाबी गरे। ‘एसिया प्यासेफिकलाई किन तपाईं इन्डो प्यासेफिक भन्न चाहनुहुन्छ?’ ल्याभ्रोभले प्रश्न गर्दै भने, ‘प्रमाण यसको जवाफ हो... चीनलाई अलग गर्नु। शब्दावली एकता गर्ने खालको हुनुपर्छ विभाजनकारी होइन। न त साङ्घाइ कोअपरेशन न त ब्रिक्स समूह विभाजनकारी हो।’
अमेरिकाले सन् २०१३ मा अघि सारेको आइपिएसको भारत पनि साझेदार हो। उनले यस्ता शब्दावली प्रयोग गर्दा ध्यान दिनुपर्ने समेत बताए। ‘हाम्रा भारतीय साथीहरु यस्तो कुरा बुझ्न स्मार्ट नै हुनुहुन्छ,’ उनले भने, ‘हामी यस्ता शब्दावलीमा धेरै सचेत हुनुपर्छ जुन भर्खरै सुरु भएको जस्तो देखिन्छ तर यसमा अरु पनि केही छ।’
भारतको विदेश मन्त्रालय र ‘अब्जर्भर रिसर्च फाउण्डेसन’ले संयुक्त रुपमा आयोजना गर्ने ‘राइसिना डायलग’को ५ औं संस्करण मंगलबार अपरान्हदेखि ७ देशका पूर्व राष्ट्र र सरकार प्रमुखको सहभागितामा सुरु भएको थियो। भू-राजनीतिलगायतका विषयमा छलफल हुने संवादमा १२ देशका विदेशमन्त्री, ३० थिंकट्याक प्रमुख सहभागी छन्, जहाँ एक सय देशले प्रतिनिधि पठाएका छन्।
४० प्रतिशत महिला सहभागी संवादमा ७ सय अन्तर्राष्ट्रिय सहभागी रहेको बताइएको छ। संवादमा ५ ‘थिम’ अन्तर्गत ८० वटा छलफलका सत्र राखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।