अहिलेसम्म रेखा थापाको हिरो कि ‘चकलेटी’ हुन्थे कि ज्यान परेका। भलै दुवै हात गुमाएका सुदर्शन गौतम अपवाद भए।
रेखाकै फिल्म ‘किस्मत’बाट आर्यन सिग्देल र ‘नशिव आफ्नो’बाट जीवन लुइँटेल फिल्म क्षेत्रमा हिरोका रुपमा चम्किए। जिम गरेर राम्रै ज्यान बनाएका सविन श्रेष्ठ, विराज भट्ट, किशोर खतिवडा लगायत पनि कुनै समय लगातार रेखाका फिल्ममा हिरो भए।
एक्सन हिरो निखिल उप्रेतीसँग पनि रेखाले थुप्रै फिल्ममा जोडी बाँधिन्।
एउटा समय हिरोको परम्परागत मान्यताभन्दा बाहिर पर्नेहरू रेखाको फिल्मका हिरो हुन्थेनन्। सायद त्यो मान्यता तोडिएर होला अब रेखाको सोच पनि फेरिँदै छन्।
त्यतिमात्रै होइन कुनै समय रेखाकै कारण हलमा दर्शकहरूको भिड लाग्थ्यो। तर, पछिल्लो समय उनका फिल्मले बक्सअफिसमा अपेक्षित व्यापार गरेनन्। ‘तथास्तु’, ‘रामप्यारी’, ‘रुद्रपिया’ उदाहरण हुन्।
अझ ‘रुद्रपिया’मार्फत् रेखाले त आर्यनसँगको चिसो सम्बन्धलाई सुमधुर बनाउँदै करिब ८ वर्षपछि एकसाथ फिल्म गर्ने निर्णय गरेकी थिइन्। त्यो समय दुवैका फिल्म बक्सअफिसमा असफल भइरहेका थिए। उनीहरूको ‘टिमअप’ पनि असफल नै भयो।
त्यसपछि निराश भएकी रेखाले अब आफ्नो फिल्मको नयाँ हिरो दयाहाङ राई र सौगात मल्ललाई लिने निर्णय गरेकी छन्। उनीहरू दुवैलाई नयाँ फिल्मका लागि अनुबन्धन गरिसकेको खबर माघे संक्रान्तिको अवसर पारेर बुधबारमात्रै उनले बाहिर ल्याएकी हुन्।
फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्ने बताइएको छ। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘निरफुल’मा रेखाले दयासँग स्क्रिन सेयर गरिसकेकी छन्। सौगातसँग भने यो पहिलोपटक हुनेछ।
दया र सौगातको अभिनयको प्रशंसकसमेत रहेकी रेखा यी दुइजनासँगको ‘टिमअप’ फलदायी हुनेमा विश्वस्त छिन्। कथाको आवश्यकता अनुसार नै यी दुईलाई फिल्ममा लिएको उनी दाबी गरिरहेकी छन्।
कथाको होस् या समयको आवश्यकता, रेखाले ‘चकलेटी हिरो’हरू छाडेर दया र सौगातलाई फिल्मको ‘हिरो’ स्वीकार्नुले संकेत गर्छ- हिरोका मामिलामा रेखाको मानसिकता पक्कै अहिले बद्लिँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।