नयाँदिल्ली– भारतमा आम आदमी पार्टीले अर्को महिना हुने दिल्ली विधानसभा निर्वाचनका लागि ७० सिटमा आफ्नो उम्मेवार तय गरेको छ। मंगलबार आपले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको हो।
जारी सूचीमा हालका १५ विधायक समेटिएका छैनन्। मुख्यमन्त्री अरविन्द केजरीवाल नयाँदिल्लीको सिटमा र उपमुख्यमन्त्री मनीष सिसोदिया पटपडगन्जवाट चुनावी मैदानमा उत्रने भएका छन्। पार्टीका नेता आतिशी मार्लेना, राघव चड्ढा र दिलीप पाण्डेय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। यी तीनै उम्मेदवार २०१९ को लोकसभा निर्वाचनका पराजित उम्मेदवार हुन्।
उपमुख्यमन्त्री सिसोदियाका सल्लाहकार एवं दिल्ली शैक्षिक सुधार रणनीतिकार आतिशी कालकाजीको मैदानमा निर्वाचनमा उत्रने छिन्। उक्त क्षेत्र तीन पटक काँग्रेसले जितेको थियो। हाल काँग्रेस दिल्ली इकाइका अध्यक्ष सुवास चोपडा उक्त क्षेत्रबाट निर्वाचन लड्ने सम्भावना छ। अर्का वरिष्ठ नेता दिलीप पाण्डे तिमारपुर क्षेत्रबाट उठ्दैछन्। उनले अघिल्लो वर्ष दिल्ली भाजपा अध्यक्ष मनोज तिवारी एवं पूर्वमुख्यमन्त्री शिला दीक्षितसँग प्रतिस्पर्धा गरेका थिए।
आपले कैयौं पूर्वकाँग्रेस नेताहरुलाई पनि टिकट वितरण गरेको छ, जसमा पूर्वविधायक परल सिंह सहनी, शोएव इकबाल र रा सिंह नेताजी छन् । २०१५ मा आपले मुस्लिम, अनुसूची जाति र सिखहरुको समर्थनका आधारमा ६७ सिटमा जित हात पार्दै रेकर्ड बनाएको थियो। यसपटक पनि उसले पाँच मुस्लिम र २ सिख उम्मेदवार उठाएको छ। यसमा ६ महिलाले पनि स्थान पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।