एजेन्सी- जहाजकाे इन्धन शरीरमा परेपछि अमेरिकामा केही बालबालिका र युवाहरु घाइते भएका छन्।
एउटा यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको थियाे। इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको बीबीसीले जनाएकाे छ।
हवाई नियमले आपत्कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिए पनि उच्च उचाइबाट निश्चित स्थानमा मात्रै त्यसो गर्न पाइने बताइएको छ। डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो।
विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका हुन्। लस एन्जेलस टाइम्स पत्रिकाका अनुसार इन्धल खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा थिए।
विद्यालय रहेको कुडाही शहरकी नगरप्रमुख एलिजावेथ एल्कान्टरले भनिन्, 'म ज्यादै दुखित छु। यो प्राथमिक विद्यालय हो र त्यहाँ सबै साना बालबालिका थिए।' डेल्टा वायुसेवाले एक विज्ञप्तिमा विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।