डडेल्धुरा– सुदूरपश्चिममा धमाधम छाउगोठ भत्काउन थालिएको छ। अछाममा छाउगोठमा बसेकी एक महिलाको मृत्यु भएपछि सुदूरपश्चिम प्रहरीले नै छाउगोठ भत्काउने अभियानमा सक्रियता देखाएको छ।
गृहको निर्देशनपछि जिल्ला प्रशासनहरुले प्रहरी तथा स्थानीय जनप्रतिनिधिलाई समेत साथमा लिएर छाउगोठ भत्काईरहेका छन्।
छाउगोठ भत्काउने कामलाई धेरैले सकारात्मक रुपले लिएका छन् भने केही नकारात्मक टिप्पणी पनि गरिएका छन्। छाउगोठ हैन मनको कालो हटाउनु पर्ने अधिंकाश अधिकारकर्मीको बुझाइ छ।
हालसम्म ३ हजार ६ सय ९३ छाउघर भत्काइसकिएको छ। प्रहरी सहितको सहभागितामा प्रदेश ६ र ७ का ती छाउगोठ भत्काइएको हो।
अछाममा अहिलेसम्म भत्काइए १ हजार ८ सय ६७ छाउगोठ
छाउगोठमै महिलाको मृत्यु लगायतका खबरले बदनामी कमाएको अछाममा पुस २९ सम्म १ हजार ८ सय ६७ छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ती संख्याका छाउगोठ भत्काइएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत छाउगोठ भत्काउन सुरु गरिएको बताए। उनले भने, ‘यस अभियान अन्तर्गत अहिलेसम्म १ हजार ८ सय ६७ छाउगोठ भत्काएका छौँ, अभियान जारी छ।’ छाउगोठ भत्काउदै गर्दा अछाममा सर्पसमेत फेला परेको स्थानीय प्रशासनले बताएको छ। अहिलेसम्म अछाममा १७ जना महिलाले छाउगोठमै ज्यान गुमाईसकेका छन् ।
बाजुरामा सामूहिक गोठ भत्काइयो
बाजुरामा हालसम्म १ सय ८५ छाउघर भत्काइएको छ।
बाजुरामा पनि प्रहरी परिचालन गरेर छाउगोठ भत्काइएको हो।
प्रहरीले जिल्ला सदरमुकामको बडिमालिका नगरपालिका–८ रतुडा टोलमा रहेका ५ वटा छाउगोठ भत्काएको हो।
रतुडामा ५० परिवारले सामूहिक रूपमा बनाएका ५ वटा छाउगोठ एकै दिन नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।
उक्त स्थानमा रहेका दलबहादुर ऐडी, गोल चदाँरा प्रकाश ऐडी, लालबहादुर अएडी र बिन्दा कठायतको घरनजिकै बनाइएका ५ ओटा सामुहिक छाउपडी गोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
डडेल्धुरामा ११ वटा छाउगोठ
डडेल्धुरामा ११ वटा छाउगोठ भत्काइएका छन्। प्रहरीले जिल्लाको आलिताल गाउँपालिका– ६ धिमडामा रहेका छाउगोठ भत्काएको हो।
सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत छाउगोठहरु भत्काउने अभियानका क्रममा धिमडाका दुई दर्जन परिवारले प्रयोग गर्दै आइरहेका ११ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लको टोलीले आलीताल गाउँपालिकाकी उपाध्यक्ष जला बिष्ट बोगटी, वडा नम्बर ६ का अध्यक्ष कुम्भ बुढा, पत्रकार र स्थानीयको सहभागीतामा ती छाउगोठ भत्काएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईबाट छाउपडी प्रथा न्यूनीकरण गर्न छाउपडी गोठ भत्काउने अभियान थालिएको उनले बताए। प्रहरी, स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी, महिला, पत्रकार, महिला समूह, आमा समूहहरुको सहभागितामा उक्त अभियान थालिएको उनले बताए।
डोटी प्रहरीले १८ गोठ भत्कायो
एक सातायता डोटीमा पनि छाउगोठ भत्काउने अभियान चलिरहेको छ। जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी छ।
प्रहरीले छाउगोठ भए/नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको बडीकेदार गाउँपालिकामा मात्रै प्रहरी १८ वटा छाउपडी गोठ भत्काएको छ ।
शुक्लाफाँटा नगरपालिकाले ११ छाउगोठ भत्कायो
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ।
सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानमा ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नम्बर ४ आशापुरबाट अभियानको शुरुआत गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।