इस्लामावाद- पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपातसम्बन्धी विभिन्न घटनामा परी अरु कयौं बेपत्ता पनि भएका छन्।
पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको मृत्यु तथा बेपत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिएका छन्।
उनका अनुसार अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरणहरु प्राप्त भएका छन्। घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन्।
मृत्यु भएका मध्ये अधिकांशको बासस्थान पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेको जनाइएको छ। दर्जनौं घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएका छन्।
त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत बर्षासम्बन्धी विभिन्न घटनाहरु भएको पनि उनले बताए।
लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन्। उनीहरुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए।
त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन्। डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ। त्यहाँ घरमै हिमपहिरो खसेको थियो।
पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।