नयाँदिल्ली- भारतीय सर्वोच्च अदालतले निर्भया सामूहिक बलात्कार र हत्याका दोषीलाई फाँसीको सजाय रोक्न माग गर्दै दायर निवेदन खारेज गरिदिएको छ।
सन् २०१२ मा दिल्लीमा एक मेडिकल विद्यार्थीमाथि ६ युवाले बर्वतापूर्वक सामूहिक बलात्कार गरी हत्या गरेका थिए। सो प्रकरणमा हालैमात्र अदालतले ५ जनालाई फाँसीको सजाय सुनाएको छ। २२ जनवरीमा फाँसीको सजाय कार्यान्वयन गर्ने निर्णय अदालतले गरेको छ।
सो निर्णय रोक्न माग गर्दै दुई अभियुक्तका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो। सर्वोच्चले मंगलबार विजयकुमार शर्मा र मुकेश सिंहको सुधारात्मक सजाय हुनुपर्ने माग गरिएको रिट खारेज गर्ने निर्णय सुनाएको हो। सर्वोच्चको यो निर्णयपछि ४ जना दोषीलाई फासीको सजाय दिन कानुनी बाधा नहुने भएको छ।
सर्वोच्चका न्यायाधीश एन वि रमन्नाको नेतृत्वमा रहेको ५ न्यायाधीशको संवैधानिक इजलासले सुधारात्मक रिट खारेज गर्ने निर्णय सुनाएको हो।
उनीहरुलाई जनवरी २२ तारिख विहान ७ बजे तिहाड जेलमा फासी दिन अदालतले तोकेको छ।
सर्वोच्चको यो फैसलापछि निर्भयाकी आमा आशादेवीले आफ्ना लागि न्याय भएको प्रतिक्रिया दिएकी छन्।
सात वर्षदेखि आफू छोरीको हत्यारालाई फाँसी दिएको हेर्न संघर्ष गरिरहेको उनले बताइन्। फाँसीको सजाय पाएका दुई अभियुक्तले भने रिट दायर गरेका थिएनन्।
दिल्ली अदालतले चार दोषीहरु मुकेश, पवन गुप्ता, विनय शर्मा र अक्षयकुमार सिंहका मृत्युदण्डको बारेन्ट जारी गरेको थियो।
तिहाड जेलमा डमी अभ्यास सुरु
दिल्ली उच्च अदालतको निर्णयपछि तिहाड जेल प्रशासनले उनीहरुलाई फाँसी दिन अभ्यास शुरु गरेको छ। पाँच दिन पछि उनीहरुलाई फाँसी दिने भएकाले जेल प्रशासनले त्यसको तयारी गरेको हो। जेलले अभियुक्तको तौल बराबरको डमी बनाएर झुन्डाउने अभ्यास गरेको छ। डमीको बोरामा ढुङ्गा भरेर अभ्यास गरिएको हो। जेल नम्बर ३ मा उनीहरूलाई फाँसी दिइँदै छ। चारै अभियुक्तहरुलाई फाँसी दिन मेरठबाट पवन जल्लादलाई झिकाइएको छ। चारै अभियुक्तलाई एकसाथ फाँसी दिइने छ।
जेल अधिकारी दोषीहरूसँग नियमित सम्पर्कमा रहेका छन्। उनीहरुको मानसिक अवस्था खराब नहोस् भन्ने उद्देश्यले उनीहरु अभियुक्तसँग नियमित संवादमा रहेका हुन्। यो घटनाका एक अारोपी राम सिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए। अन्य एक दोषी नाबालिग भएकाले उनलाई तीन वर्षसम्म सुधारगृहमा राखेर रिहा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।