जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताएका छन्।
नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक सगरमाथा सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन्।
जलवायु परिवर्तन रोक्न फिल्डमै काम गर्नुपर्ने बताउँदै उनले आफनो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागोष्ठीमा केलाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्दै उनले चुरे दोहन र वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे ।
‘दिनदहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहुँ वन विनास हुँदैछ, रोक्ने प्रयास गर्नेहरुको दिनदहाडै हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौ। प्रहरी हाम्रो मातहत छैनन्, संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन योभन्दा ठूलो दुर्भाग्य अरु के होला ?’ उनले भने।
तलदेखि माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भईरहेको आरोपसमेत उनले लगाए ।
विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइरहेकोतर्फ सचेत गराउँदै मुख्यमन्त्री राउतले भने, ‘अहिले विभिन्न नेताहरुको चुरे विनास गरेर धमाधम सडक निर्माण हुँदैछन्, त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ। यसलाई रोक्न पर्यावरणविदहरुले कलम चलाईदिनु पर्दछ। तीनै तहका सरकारको आँखा खोलिदिने काम गरिदिनुपर्छ।’
नीति अनुसन्धान प्रतिष्ठान सदस्य डा सुरेन्द्र लाभको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रदेश नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्य, सुरक्षा निकायका प्रमुख, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिसहित सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।