गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

नेपाल लाइभ | २०७६ पौष २९ मंगलबार | Tuesday, January 14, 2020 ०८:१०:०० मा प्रकाशित

काठमाडाैं- गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। गएराति दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए।

आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे बताइएकाे छ। गम्भीर घाइते भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो।

भट्टराईकाे निधनबारे विश्वमणि सुवेदी विमसुले फेसबुकमा लेखेका छन्, 'गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। तर, चिकित्सकहरुको रातभरको प्रयास असफल भयो। निशान अब हामीमाझ रहेनन्। साथी, तिमीलाई यही हातले श्रद्धाञ्जली लेख्नुपर्ने यो दिन एकदमै पीडादायी छ।'

तस्बिर विश्वमणि सुवेदी विमसुकाे फेसबुकबाट

धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन्।