लण्डन- बेलायती राजकुमार ह्यारी दम्पतीबारे निर्णय गर्न सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ।
महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ।
राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो।
बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए।
ह्यारीका पिता तथा युवराज चार्ल्स र दाइ विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।
ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चार्ल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका हुन्।
मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो। उनलाई क्यानाडाबाटै बैठकमा सहभागीताका लागि आउन आग्रह गरिएको थियो। व्यक्तिगत जीवनका लागि उनीहरुले फेरि ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ।
महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिनअगाडि नै क्यानडा गएकी थिइन्। ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले त्यस्तो घोषणा गरेका थिए।
ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ। दरबार श्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन्।
राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतिको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको हो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।