जनकपुर– जनकपुरधाम उपमहानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकारमाथि कुटपिट भएको घटनाविरुद्ध नेपाल पत्रकार महासंघ धनुषा शाखाले थप आन्दोलनका कार्यक्रम तय गर्न संघर्ष समिति गठन गरेको छ।
गत पुस २२ गते सूचना लिन गएका पत्रकारहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहकै कार्यकक्षमा पत्रकारमाथि हातपात तथा कुटपिट भएको विरोधमा महासंघ धनुषाले आन्दोलनको कार्य तय गर्न समिति गठन गरेको हो।
यसअघि महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषीमाथि कारबाही गर्नका लागि ज्ञापनपत्रमार्फत् दिएको पाँच दिने अल्टिमेटम समाप्त भएपछि महासंघले आन्दोलनका कार्यक्रम तय गर्न लागेको हो।
कुटपिट भएकै दिन प्रहरीले नगरपालिकाबाट सीसीटीभी फुटेज लिए पनि अहिलेसम्म प्रशासनले कारबाही अघि नबढाएपछि पत्रकारहरुले आन्दोलन घोषणा गर्ने भएका हुन्।
संघर्ष समितिमा पत्रकार महासंघ प्रदेश २ मा महासचिव किरण कर्ण, विरेन्द्र रमण, अजय अनुरागी, राजेश कर्ण, सुजित झा, उपेन्द्रभगत नागवंशी, नित्यानन्द मण्डल, मनिका झा लगायत छन्।
समितिले आन्दोलनका कार्यक्रम तय गर्नुका साथै दोषीमाथि कारबाहीका लागि थप दवाब सिर्जना गर्न विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्थासंग समन्वय गर्ने निर्णयसमेत गरेको हो।
साथै पत्रकारहरुमाथि भएको कुटपिट तथा हातपात घटनाको छानबिन गर्न पत्रकार महासंघको केन्द्रीय मिशन टोली, प्रादेशिक मिशन टोली, राष्ट्रिय मानव अधिकार आयोगसहितका विभिन्न अधिकारवादी टोलीलाई पत्राचार गरी मिसन टोली माग गर्ने निर्णय गरेको छ।
गत मंगलबार जानकी मन्दिरको फुलबारी अतिक्रमण सम्बन्धमा बाइट लिन जाँदा पत्रकारमाथि कुटपिट तथा हातपात भएको थियो। हातपातबाट कान्तिपुर टिभिका पत्रकार अमरकान्त ठाकुर, एपीवानका पत्रकार विकास शाह, एबीसी टिभिका पत्रकार सुमित मिश्र, देशसञ्चारअनलाइनका राजा झा र उज्यालो नेटवर्कका सुभाष कर्णमाथि कुटपिट गरिएको थियो।
त्यसैगरी नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रलाई कारबाहीको माग गर्दै आइतबार महिला संघर्ष समितिद्वारा प्रदर्शन गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी महिलाहरुसहितको टोलीले अध्यक्ष मिश्र र पत्रकार अमरकान्त ठाकुरलाई कारबाहीको माग गरेका हुन्। उनीहरुले पत्रकारहरुले महिलालाई कुटपिट गरी घाइते बनाएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ज्ञापनपत्र बुझाएका छन्।
महिला कर्मचारीहरुले जुलुस निकाली जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले मिश्र र ठाकुरलाई कारबाहीको मागसहित ५ दिने अल्टिमेटमसमेत दिएका छन्। उक्त अवधिमा कारबाही नगरे दोश्रो चरणको आन्दोलन घोषणा गर्नेसमेत उनीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।